मकवानपुरमा १३ वटा गुम्बाको पुननिर्माण सुरु

मकवानपुर । मकवानपुरमा १३ वटा गुम्बाको पुननिर्माण सुरु भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइको भुकम्पीय गुम्बा आयोजना अन्तर्गत मकवानपुरमा १३ वटा गुम्बाको पुननिर्माण सुरु गरिएको हो ।
२०७२ सालको भुकम्पमा परी जीर्ण बनेका मकवानपुरका १३ वटा गुम्बाको पुर्ननिर्माण गर्न प्राधिकरणबाट कूल ४ करोड १ लाख ५८ हजार रुपैँया बजेट विनियोजन भइसकेको छ ।
हेटौंडा उपमहानगरपालिकामा ४ वटा, इन्द्रसरोवर गाउँपालिकामा ३ वटा, बागमती गाउँपालिकामा २ वटा र क्रमश बकैया, राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकामा १÷१ वटा गरी कूल १३ वटा गुम्बा पुननिर्माणको काम सुरु भएको हो ।
कूल १३ वटा मध्ये ५ वटा गुम्बाको पुननिर्माणका लागि प्राधिकरणले २० प्रतिशत रकम थप गर्ने जनाएको छ ।
त्यतै मनहरी गाउँपालिका वडा नम्वर ५ बसन्तपुरमाको टासि छ्योइलिङ गुम्बाको पुननिर्माणका लागि आज शिलान्यास गरिएको छ । भुकम्पबाट क्षतिग्रस्त बनेको सो गुम्बा पुननिर्माण कार्य सुरु गरिएको हो ।
बागमती प्रदेश सभा सदस्य ओम बहादुर घलान, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रती र मनहरी गाउँपालिका–५ का अध्यक्ष शुभराज थिङले संयुक्त रुपमा आज शिलान्यास गरेका हुन् ।
उक्त गुम्बा निर्माणको लागि कूल ४१ लाख लागत अनुमान गरिएको र ३ महिनाभित्रै निर्माण सम्पन्न गरिने जनाइएको छ ।