बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
पाँचथर । पाँचथरमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङका ३१ वर्षीय धनबहादुर उभरकोटीले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन्
उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
गएराती करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन् । घटना थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी बिहान ३ बजे घटनास्थल पुगेको थियो ।
घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।
धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।










