श्रीमती हत्या गरेको अभियोगमा हेटौंडाबाट एक पक्राउ
काभ्रे । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । आफ्नै श्रीमतीको हत्या गरि फरार रहेका उनलाई हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नुवाकोट ओखरपौवा–१ घर भई बारा निजगढ नगरपालिका–२ बस्ने ५३ वर्षीय जीवन नेपाली रहेका छन् । स्थानीय प्रहरीको सहयोगमा नेपालीलाई सोमबार पक्राउ गरेको हो ।
गत पुस ९ गते काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिता नेपालीको शव फेला परेको थियो ।
अनुसन्धानको क्रममा जीवन र सीता पनौती बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको, उनीहरुबीच आर्थिक कारोबार सम्बन्धमा विवाद हुने गरेको र गत मंसिर २३ गते काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीसँगै हिँडेपछि बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा पुगी सितालाई जिवनले हात तथा लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको खुल्न आएको छ ।
प्रकाउ परेका नेपालीलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।










