होटल सामनाको व्यवस्थापनमा सिद्धार्थ ग्रुप

मकवानपुर । मकवानपुरको होटल सामनाको व्यवस्थापनको जिम्मा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले लिएको छ । आज होटल सामनाले सिद्धार्थ बिजनेश ग्रुपसंग व्यवस्थापकीय साझेदारी गरेको हो ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत आगामी ५ वर्षका लागि सिद्धार्थ बिजनेश ग्रुपसँग साझेदारी बारे होटल सामनाले जानकारी दिएको हो ।
५८ वटा सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा सभाहल, रेष्टुरेन्ट, बार, क्याफे, प्राइभेट डाइनिङ रुम, स्वीमिङ पुल भएको सामनाले सेवा, सुविधामा अभिवृद्धि गर्ने गरी सिद्धार्थ बिजनेश ग्रुपसँग साझेदारी गरेको बताइएको छ ।
देशका पर्यटकीयस्थलका होटलहरुसँग व्यवस्थापकीय साझेदारी गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुपले सामनाको व्यवस्थापनसँगै मकवानपुर जिल्लाको पर्यटन प्रवर्धनमा समेत सहयोग पुर्याउने सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका कार्यकारी निर्देशक कृष्ण न्यौपानेले बताए ।
मध्य र मध्यपूर्वि नेपालका पर्यटन प्रवर्धनमा उल्लेखनीय कार्य गर्ने न्यौपानेले दावी गरे ।