हेटौंडामा राउन्ड टेबल गसिप, तीन कृतिमाथि समालोचना

हेटौडा न्युज
१९ पुष २०७७, आईतवार ११:३०
;

मकवानपुर । हेटौंडामा चितवनका लेखक तथा पत्रकारका तिन कृतिमाथि परिचर्चा गरिएको छ । चितवनका प्रत्रकार तथा सर्जक क्रमश सूर्यप्रकाश कंडेलको उपन्यास ‘मोसो’, बसन्त पराजुलीको कथा संग्रह ‘कुमाता’ र विनोदबाबु रिजालको कोभिड डायरी ‘एकान्तवास’ माथि परिचर्चा गरिएको हो ।

मकवानपुरका साहित्यकारहरुको संस्था राउण्ड टेवल गसिपद्वारा आयोजित पुस्तकमाथिको परिचर्चा कार्यक्रममा साहित्यकारहरु क्रमश घनश्याम घिमिरे, निमेश निखिल र शान्ति प्रियबन्दनाले कृतिमाथिको समालोचनात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् लेखक साहित्यकार गोविन्द रिजालले साहित्य र पत्रकारिता दुबै समाजको मार्ग दर्शक भएको बताए ।

साहित्यमा कमिकमजोरी रहे पनि त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताउँदै उनले तीनै जना साहित्यकार एवम् पत्रकारको रचना समाजको सम्पती भएको उल्लेख गरे ।

साहित्यकार कँडेलद्वारा लिखित उपन्यास ‘मोसो’ पत्रकारिताका नाममा हुने विकृतिका बारे विषय उठान गरिएको कृति भएको साहित्यकार घिमिरेले टिप्पणी गरे । उनले पुस्तकको विषयबस्तु उत्कृष्ट रहेको तर कैयन स्थानमा विषय दोहोरिएका र भाषागत त्रृटि रहेको बताए ।

घिमिरेले पुस्तकमा पत्रकारिताभित्रका विकृति बारे गहिराइमा जान नसकेको र गम्भीर विषयलाई पक्रेर पनि गम्भीर ढंगले नै पस्कन नसकेको भन्दै उपन्यास सोचेजति आकर्षक नभएको टिप्पणी गरे । उपन्यास आफैँमा एउटा बेग्लै संसार भएको भन्दैे, विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुने सूर्यप्रकाश कँडेलले बताए । मोसोमा यी कुरा भएकोले एउटा सामाजिक सन्देश दिन खोजेको उनको भनाई छ । उनले भने – पत्रकार भन्दैमा सबै दूधले नुहाएका नहुने पत्रकारिताको आवरणमा गलत हुने भएकाले ‘मोसो’ उपन्यासबाट सो सन्देश दिन खोजिएको छ ।

वि.सं २०५५ असोजमा चितवन पोष्ट साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गरेका कँडेल गहन समाचार र फिचर लेखनमा दख्खल राख्छन् । पत्रकार कँडेल चितवनमा रहेर सफल खबर डटकममार्फत पत्रकारितामा क्रियाशील छन् । यसअघि उनले १४ वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकको चितवन संवाददाताकोे रुपमा रहेर काम गरेका थिए । उनको ‘मोसो’ उपन्यास पहिलो कृति हो ।

त्यसैगरी २ दशकदेखी गोरखापत्र राष्ट्रिय दैनिकमा आवद्ध रहेका पत्रकार पराजुलीको पहिलो कथासंग्रह ‘कुमाता’ मा सामाजिक यथार्थ चित्रण गरिएका कथाहरु रहेका छन् । उनको पुस्तकमाथि साहित्यकार निमेश निखिलले टिप्पणी गरेका हुन् । उनले संग्रह भित्रका सबै कथा सामाजिक यथार्थ परक र रोचक रहेको बताए । कथा संग्रहले आम पाठकको मन तान्ने र सोच्न बाध्य बनाउने उनले बताए । कथा संग्रहमा संग्रहित पहिलो कथा ‘पत्रकार’ मा रिपोर्टिङमा दिन रात नभनी खटिनुपर्ने, समाचार बनाउँदा ज्यान मार्नेसम्मका धम्की र जोखिम उठाउनुपर्ने , न्याय खोज्दा नपाउने, न्युन पारिश्रमिक त्यो पनि समयमा नपाउने आदि आम पत्रकारका वास्तविक पीडालाई दसाइएको छ ।

‘छापामारको प्रेम’ ले द्वन्द्वकालिन समयको एउटा कहालीलाग्दो यथार्थ कथा प्रस्तुत गरेको छ । ‘उकुच’ र ‘दशैं’ कथा गरिबीका कारण बैदेशिक रोजगारीमा जान बाध्य नेपाली, त्यहाँ उनीहरुको अवस्था अनि स्वदेशमा उसको जहानको अवस्थाका बारेमा मार्मिक र यथार्थ कथा प्रस्तुत गरिएको छ । ‘कुमाता, परिवन्द, अस्मिता, नियति’ जस्ता सामाजिक यथार्थवादी विषय समेटेर तयार पारिएको सो कथा संग्रहमा दशवटा कथा रहेका छन् । साहित्यकार निखिलले उनले कथामा नविन प्रयोग नभएको र परम्परागतरुपमा रहेका कथाका शैलीलाई आगामी कृतिमा नयाँ प्रयोग गर्न सुझाव
दिए ।

त्यसै विनोदबाबु रिजालले कोरोना भाइरसका कारण गरिएको लकडाउनका अनुभूति संगालेर लेखेको पुस्तक ‘एकान्तवास’ कृति युरेका पब्लिकेसनले प्रकाशन गरेको हो । शान्ति प्रियबन्दनाले पुस्तक कोरोना कालको दस्तावेज भएको बताइन् । उनले पुस्तकमा चैत ८ देखि असार १ गतेसम्मका मुख्य घटनाक्रम, तथ्यांक र अनुभूतिलाई समावेश गरिएको बताइन् । ती घट्नाक्रममा धेरै विषय दोहोरिएको र पुस्तक रोचक नभएको उनको टिप्पणी थियो । सधैँ समाचार लेखिरहने पत्रकारले हरेक दिनका मुख्य घटनाकै प्रभाव समेटेको चर्चा शान्तिप्रिय बन्दनाले गरिन् । उनले यो कृति भावी पुस्ताका लागि दस्ताबेज हुनसक्ने भन्दै कयैन मुख्य घटनाहरु समावेश गर्न छुटेको बताइन् ।

लेखक रिजालले एकान्तवास अविष्मरणीय लकडाउनको सम्झनाको संगालो भएको बताए । उनले भने, ‘गहिरो कल्पनामा डुबेर लेखिएको किताब होइन, कोरोना त्रास र लकडाउनको कालो दिनलाई सम्झने र टिपोटको प्रयास गरेको हुँ ।’

लकडाउन अवधिमा अर्थतन्त्र र सामाजिक जीवनमा पारेका प्रभावलाई एकीकृत गरी पुस्तकको आकार दिएको उनले बताए । कृतिमा लकडाउन अवधिमा भएका राजनीतिक उतारचढाव, प्रधानमन्त्रीका अभिव्यक्तिहरु, नयाँ नक्सा जारी, संक्रमितको बढ्दो प्रभाव लगायतका घटना समेटिएका छन् ।

रिजालले डायरीलाई ७८ मूल शीर्षकमा लेखेका छन् । पत्रकार रिजाल कायाकैरन दैनिकका सम्पादक हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*