विदेशमा निधन भएको मकवानपुरका दुई परिवारलाई आइएमईको सहयोग

हेटौडा न्युज
२९ पुष २०७७, बुधबार १६:१३
;

मकवानपुर । विश्वव्यापी महामारी कोभिड १९ का कारण विदेशमा निधन भएका मकवानपुरका २ जनाको परिवारलाई आईएमई लिमिटेडले आर्थिक सहयोग गरेको छ । साउदी अरबमा निधन भएका सोहनकुमार गुरुङ र तुलबहादुर कामीका परिवारलाई राहत स्वरुप प्रति परिवार ५० हजार रुपैयाँको दरले नगद सहयोग प्रदान गरिएको हो । हेटौडाका गुरुङकी श्रीमती विष्णु माया गुरुङ र छतिवनका कामीका छोरा युवराज विश्वकर्मालाई आईएमई लिमिटेडका क्षेत्रीय प्रमुख सुरज पौडेलले नगद सहयोग हस्तान्तरण गरेका छन् ।

विदेशमा निधन भएका नेपालीका परिवारलाई सहयोगका लागि आईएमई लिमिटेडले आईएमई भरोसा कोष स्थापना गरेको थियो । सोही कोष अन्तर्गत मकवानपुरका दुई परिवारलाई राहत रकम वितरण गरिएको क्षेत्रीय प्रमुख पौडेलले जानकारी दिएका छन् । परिवार पाल्नकै लागि विदेश गएका व्यक्तिको उतै निधन हुँदा उक्त परिवारमा पर्न गएको वज्रपात को क्षतिपूर्ति त केहीले पनि गर्न सक्दैन, तर पनि तत्कालको लागि राहत स्वरुप आर्थिक सहयोग गरिएको पौडेलले बताए ।

आइएमई लिमिटेडले विगतका वर्षहरुमा दशैं,तिहार र छठ लक्षित गरी सञ्चालन गर्ने गरेको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रम यस वर्ष नगरी भरोसा कोष स्थापना गरेको थियो । देशभरबाट प्राप्त आवेदन बाट छनौट भएका परिवारलाई सोही कोषबाट अहिले राहत रकम वितरण भइरहेको आइएमई लिमिटेडले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*