भारतबाट अम्लेखगञ्ज आउने पाईपलाईनको तेल प्वाल पार्दै चोर्दै
मकवानपुर । बाराको अम्लेखगञ्ज इन्धन डिपोमा भारतबाट आउने पाइपलाइनको तेल जमिन मुनि खनेर पाईप प्वाल पारेर चोर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो । जमिन मुनि गाडिएको भूमिगत पाइपलाई प्वाल पारेर उक्त प्वालमा सानो पाइप जडान गरेर तेल (इन्धन) चोरी भएको जनाईएको छ ।
यस सम्बन्धमा भारतीय आयल निगमले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ । तेल चोरी सम्बन्धी घटना बारे स्थानीय प्रहरी चौकीमा उजुरी समेत दर्ता भएको छ भने मुख्य पाइपलाइनबाट तेल चोरी भएपछि करोडौं रुपैयाँ नोक्सान भएको बताइएको छ । सो पाइपबाट हरेक दिन हजारौं लिटर डिजल पठाउने गरिएको छ ।
गत २०७६ भाद्र २५ गते भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पाइपलाइन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भिडियो कन्फरेन्स’मार्फत उद्घाटन गरेका थिए ।











