इन्डोनेशियामा शक्तिशाली भूकम्प, ३४ जनाको मृत्यु

एजेन्सी । इन्डोनेशियामा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । इन्डोनेशियाको सुलावेसी टापूमा शुक्रबार बिहान गएको भूकम्पका कारण भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको जनाइएको छ ।
मेजीन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा केन्द्रविन्द्रू रहेको उक्त भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर छाडेका छन् । मेजिनको उत्तरतर्फ अस्पताल भवन भत्कदाँ दर्जनौं बिरामी र कर्मचारीहरु भग्नावशेषमै पुरिएका अधिकारीहरुले जनाएका छन् ।
अहिलेसम्म मामुजुमा कम्तिमा २६ जना तथा पश्चिमी सुलावेसीमा कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
भूकम्पका कारण विद्युतको आपूर्ति बन्द भएको तथा पश्चिम सुलावेसीस्थित एक होटल र गर्भनरको कार्यालयमा ठूलो क्षति भएको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।