सबै नेपालीले ३ महिनाभित्र निःशुल्क खोप पाउँछन्ः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले तिन महिना भित्र निःशुल्क कोरोनाविरुद्धको खोप पाउने बताएका छन् । वालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा बोल्दै ३ महिनाभित्र सबै नेपालीको पहुचमा निःशुल्क कोरोनाविरुद्धको खोपमा पुग्ने बताएका हुन् ।
उनले कोरोना महामारीबीच कतिपय काम परिपक्व नभएको भन्दै स्थानीय तहको भूमिकाले आवश्यकताको औचित्य पुष्टि भएको उल्लेख गरे।
उनले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिए पनि सावधानी भने अपनाइरहनुपर्ने बताए ।
कोरोनाविरुद्धको लडाईलाई जारी राख्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही गर्न नहुने बताए ।
नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन् । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो ।
भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।
स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।










