बागमती प्रदेशमा ५५ हजार ८ सय बढीले लगाए कोरोना खोप

हेटौडा न्युज
२३ माघ २०७७, शुक्रबार १८:२१
;

मकवानपुर । बागमती प्रदेशमा ५५ हजार ८ सय ७८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । बागमती प्रदेशका १३ जिल्लामा पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियानको ९ दिनमा ५५ हजार ८ सय ७८ जनाले खोप लागाएका हुन् ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले आज हेटौंडामा गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रदेशका ४९ वटा खोप केन्द्रहरुबाट कोरोना खोप सेवा दिएको जनाइएको हो ।

खोप सुचारु भएको नवौं दिनसम्म आइपुग्दा खोप लगाएका ३ सय ३४ जनामा भने खोपले सामान्य असर देखाएको छ भने २ जनालाई गम्भिर स्वास्थ्य समस्या देखिएको छ । तर, उपचार पश्चात उनीहरुको अवस्था अहिले सामान्य रहेको निर्देशनालयले जनाएको छ ।

उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने, खोप लगाएको ठाउँमा दुख्ने जस्ता समस्या देखिएका हुन् ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सहयोगी, सफाइकर्मी, विमानस्थलमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा क्रियाशील व्यक्तिहरु, ज्येष्ठ नागरिक लगायतले हालसम्म खोप सेवा लिएका छन् ।

कार्यक्रममा निर्देशनालयले गत आर्थिक वर्षमा सञ्चालन गरेका कामहरुको सम्बन्धमा पनि जानकारी गराइएको थियो ।

निर्देशनालयले गत आर्थिक वर्षमा प्रदेश भित्रका २ हजार ९ सय १० खोप केन्द्रबाट खोप सेवा प्रदान गरेको जनाएको छ । निदेशनालयले सो कार्यक्रममा १ लाख ५८ हजार ६७ जनाले खोप सेवाको उपभोग गरेको तथ्याङ्क दिएको छ ।

प्रदेशका ७० प्रतिशत बालबालिका खोप कार्यक्रमको पहुचमा पुगेको निर्देशनालयले जनाएको छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले स्वास्थ्य मापदण्ड सुधारका लागि २६ करोड ६८ लाख र बाल स्वास्थ्य सुधारका लागि १८ करोड ३५ लाख रकम छुट्याएको थियो ।

निदेशनालयको तथ्याङ्क अनुसार प्रदेशका २१ प्रतिशत जनसंख्यामात्र स्वास्थ्य सेवाको पहुचमा पुगेका छन् । बागमती प्रदेशमा १३÷१३ वटा प्रदेशिक र आयुर्वेदिक अस्पताल संचालनमा रहेका छन् ।

नागरिकको आकर्षण वैकल्पीक चिकित्सा तथा आयुर्वेदमा बढ्दै गएकाले सबै स्थानिय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिने निर्देशनालयले जनाएको छ । गत आर्थिक वर्षमा मात्रै ४२ वटा नयाँ नागरिक आरोग्य सेवा केन्द्रहरु स्थापना गरिएको छ ।

कार्यक्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्दै निर्देशनालयका निर्देशक रमेश प्रसाद अधिकारीले गाउ घर क्लिनिकले गाउ स्तरबाट स्वास्थ्य सेवा प्रदान भैरहेकाले दुर्गम क्षेत्रसँग दुरी कम गरिरहेको बताए ।

गाउँस्तरमा महिला समुहमार्फत महिना १ पटक स्वास्थ्य सम्बन्धी छलफल गरेर पनि जनचेतना बढाउने काम भैरहेको उनले बताए ।

उनले मन्त्रालयमार्फत मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रम संचालन भैरहेकाले स्वस्थ हुन स्वस्थ व्यवहार लागु गर्नेपर्ने बताउनुभयो । कार्यक्रममा निर्देशनालयका शाखा प्रमुख शम्भु काफ्ले निर्देशनालयले गरेका कामहरुको बारेमा प्रकाश पारेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*