मकवानपुरमा सुमो दुर्घटना, ३ जना घाइते
मकवानपुर । मकवानपुरको झिरघारी नजिक सुमो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । त्रिभुवन राजपथ अन्तर्गत पर्ने भिमफेदी-९ झिरघारी नजिक शनिबार साँझ भएको दुर्घटनामा ३ जना घाइते भएका हुन् ।
घाइते सबैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
शनिबार साँझ काठमाडौंबाट हेटौँडा तर्फ आउँदै गरेको ना १ ज ४१३८ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सुमोमा चालक सहित १० जना सवार थिए । १० मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने ७ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
उक्त क्षेत्रमा दिउँसो हिमपात भएको हिमपातका कारण चिप्लिएर सुमो दुर्घटना भएको प्रहरीको अनुमान छ।
घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा तर्फ पठाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
घाइते हुनेको पहिचान खुल्न नसकेको जनाइएको छ।










