बकैया बन्यो नेपालको दोस्रो बालमैत्री गाउँपालिका
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका नेपालको दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहिबार बकैया गाउँपालिकालाई बालमैत्री स्थानिय शासन अवलम्बन गर्ने गाउँपालिका घोषण गरेका हुन् ।
बकैया नेपालकै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो गाउँपालिका बनेको छ । यस अघि मकवानपुरकै मनहरी गाउँपालिकाले पहिलो पटक बालमैत्री गाउँपालिका घोषण गरीसकेको छ ।

आज बकैया गामउँपालिका–४ को जुरेलीमा भव्य समारोहका बिच गाउँपालिकाले बालमैत्री पालिका घोषणा गरेको हो ।

देशकै दोस्रो बालमैत्री गाउँपालिका बनेकोमा बधाई दिँदै मुख्यमन्त्री पौडेलले घोषणा अनुसारको कार्यमा निरन्तर लागि पर्न आग्रह गरे । बालमैत्री सूचकहरू भित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता महत्वपूर्ण भएकोले गाउँपालिकाका सबै पक्षहरूले यसलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

उनले प्रदेश सरकारले बालबालिकाको हितमा थुप्रै काम गरेको र बालमैत्री कार्यका लागि स्थानीय तहलाई सहयोग गर्ने पनि बताए । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बागमती प्रदेशलाई बालमैत्री प्रदेश बनाउने तयारीमा अघि बढेको समेत बताए ।

घोषणा कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले घोषणा अनुसारको कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

जिल्ला समन्वय समिति मकवानपुरले बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमति प्रदान गरे संगै आज बृहत कार्यक्रमका बीच बकैयालाई बालमैत्री घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको बैठकले बकैयाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि, २०७० र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम पालिकाका १२ वटा वडा बालमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यान्वयन घोषणा प्रक्रियामा विगतदेखि नै कार्य गर्दै आएको र बालमैत्री स्थानीय तह हुनका लागि तोकिएको मापदण्ड तथा संस्थागत व्यबस्थाहरु पूरा गरेको प्रतिवेदनका आधारमा अनुगमन गर्दा पालिकाका सम्पूर्ण वडा तथा पालिकासमेतबाट निर्धारित सूचक तथा मापदण्ड पूरा गरेको पाइएकोले घोषणाको अनुमति दिएको हो ।

३९३।७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको बकैया गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि, २०७० र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँपालिकाभित्रका १२ वटा वडाहरू बालमैत्री स्थानीय शासन प्रवर्धन कार्यान्वयन घोषणाको लागि तीन वर्ष अघिदेखि काम गर्दै आएको थियो ।

साविकका मकवानपुरका ५ वटा गाविस मिलाएर बनाइएको बकैया गाउँपालिकाअन्तर्गत् साबिकका धियाँल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन गाविस पर्दछन् ।

भौगोलिकरुपमा बिकट भएकोले आवश्यक पूर्वाधारको अबस्था कमजोर छ । शिक्षा, स्वास्थ्य, गरिबी तथा अन्य सूचक कमजोर देखिन्छन् । तामाङ जातिको उच्चतम् बसोबास उक्त क्षेत्रमा पाउन सकिन्छ ।

बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणाका लागि बालमैत्री गाउँपालिका घोषणा गर्न ३९ ओटा सूचकहरूमा रहेर काम गरीएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए ।
मापदण्डमा १७ ओटा सूचक १०० प्रतिशत हासिल गर्नुपर्नेमा १९ वटा शतप्रतिशत र २२ वटा सूचक न्यूनतम ८० प्रतिशत हासिल हुनुपर्ने हुन्छ । जसमा २० सूचकमा सफलता हासिल गरिएको अध्यक्ष खनालले बताए ।
कुल ४६ हजार २ सय ४८ जनसंख्या भएको बकैयामा ८ हजार ४ सय ३१ घरधुरी रहेका छन् । जसमा बालबालिकाको संख्या १७ हजार ४ सय ६० रहेको छ । ७६ वटा सामुदायिक र ५ वटा सस्थागत गरि कुल ८१ वटा बिद्यालय रहेको बकैयामा बाल बिकास केन्द्र ७४,बालसमुह ११३ वटा रहेका छन् ।
कार्यक्रममा बालमैत्री पालिका घोषण गर्न सहयोग पुर्याएबापत सामाजिक व्यक्ति, कमचारी तथा संघसंस्थालाई गाउँपालिकाले सम्मान समेत गरेको थियो ।










