नयाँ शैक्षिक सत्र असारबाट
काठमाडौं । असारबाट नयाँ शैक्षिक सत्र शुरु हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण आगामी वर्षको शैक्षिक सत्र असारबाट सुरु हुने भएको हो ।
कोरोनाका कारण यो वर्ष प्रभावित भएको शैक्षिक सत्र जेठमा सकिने छ ।
शिक्षा मन्त्रालयका अनुसार संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको जनाएको छ ।
संशोधित शिक्षा नियमावलीमा, ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ’ भन्ने कुरा उल्लेख गरिएको छ ।
शिक्षा मन्त्रालयले गत असोज १ गतेबाट ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ लागू तथा मूल्यांकन गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो ।
सिकाइ सहजीकरणमा विद्यार्थी जोड्न नसकेका विद्यालयहरुले माघ महिनाबाट भौतिक उपस्थितिमा विद्यालय सन्चालन सुरु गरेका थिए ।










