दुर्घटनामा परेको बाईकबाट लागू औषध बरामद, चालक फरार
मकवानपुर । इलाका प्रहरी कार्यालय, नेवारपानीको प्रहरी टोलीले आज दुर्घटनामा परेको बाईक र सवार व्यक्तिहरुको उद्धारको क्रममा लागूऔषध फेला पारेको जनाएको छ ।
प्रहरीका अनुसार १३ केजी अफिम जस्तो देखिने वस्तु र २६ ग्राम चरेश फेला पारेको हो । हेटौंडा–३ स्थित पूर्वपश्चिम सडक खण्डमा प्रहरी टोलीले चेकजाँच गरिरहेको देखेर मनहरी तर्फबाट हेटौंडा आउँदै गरेको अनटेष्ट बाईक पुन मनहरी तर्फ नै फार्काउने क्रममा बागमती प्रदेश ०३–००१ क ०२३३ नं. को टिपरसँग ठक्कर खान पुगेको थियो भने सो टिपर ना ७ ख ६८४१ नं. को बससँग समेत ठक्कर खान पुगेको थियो ।
दुर्घटनापछि प्रहरी टोली उद्धार गर्न पुगेको प्रहरीलाई देखेर बाईक चालक मकवानपुर सरिखेत पलासे घर भई हेटौंडा–११ थानाभ¥याङ बस्ने सानुकान्छा योञ्जन फरार भएका थिए । घाईते बाईक पछाडी सवार उनकी श्रीमति बर्ष ५४ की माईली माया योञ्जनलाई हेटौडा स्थित चुरेहिल अस्पतालमा ल्याई प्रहरीको निगरानीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको बाईक चेकजाँच गर्दा सिटमुनी ९ वटा पोका र झोलामा ६ वटा पोका गरी जम्मा १५ वटा पोकामा सो लागूऔषध फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमाल जानकारी दिएका छन् ।










