धादिङमा महिलालाई जिउँदै पुरेको आरोपमा डोजर अप्रेटर पक्राउ
मकवानपुर । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–१ को सल्यानटारमा महिलालाई जिउँदै पुरेको आरोपमा डोजर अप्रेटर पक्राउ परेका छन् । सो स्थानमा बाटो निर्माणमा रहेको डोजरको ठक्करबाट घाइते भएकी महिलालाई उद्धार गर्नुको साटो जिउँदै पुरेको आरोपमा दाङका डोजर अप्रेटर भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो ।
सो स्थानको जिपजिपे खोल्सीमा गत फागुन १७ मा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल डोजरको ठक्करबाट खाल्डोमा खसेकी थिइन् । तर, चालक बुढाथोकीले उद्धार गर्नु साटो खाल्डोमा छेउको माटो ल्याएर पुरिदिएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुढाथोकीलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई धादिङ बुझाएर ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ । घटनापछि स्थानीयवासीले डोजरमा आगजनी गरेका थिए ।










