नारायणी संघको तेश्रो साधारणसभा हेटौंडामा सम्पन्न

मकवानपुर । नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी पुरानो नारायणी यातायात कम्पनीको दोश्रो र नारायाण्ी संघ हेटौंडाको तेश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । साना, मझौला तथा ठूला गरी करीब ९ हजार सवारी सदस्य रहेको कम्पनीको बार्षिक साधारण सभामा यातायात व्यवसायीहरुले हाल भोग्नु परेको कठिनाई, सरकारले ल्याउने गरेको नीति नियमहरुका कारण पनि यातायात व्यवसायीहरु मर्कामा परेको विषयमा चर्चा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले विभिन्न शीर्षकमा हाल बार्षिक रुपमा लिईदै आएको शुल्क अव्यवहारिक भएको धारणा व्यक्त गरेका छन् । नेता बानियाँले व्यवसायीहरुसँग लिने शुल्क एकैपटक न्युनतम पाँच बर्षको लिंदा व्यवसायीहरुको समयको बचत हुने र त्यसरी एकैपटक संकलित राजश्व शुल्कले सडक सुधार, पुलपुलेसाको स्तरोन्नति गर्न सरकारलाई नै सघाऊ पुर्याउने भनाई रहेको थियो ।
कार्यक्रममा कम्पनीका महासचिव सरोजकुमार खनालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचव खनालले कम्पनीका तर्फबाट गरिएका सामाजिक उत्तरदायित्व र यातायात व्यवसायीहरुको समस्या समाधानमा गरेका सहजीकरणका बारेमा प्रतिवेदनमा उल्लेख गरेका थिए ।
साधारण सभामा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी, थाहा नगरपालिका प्रमुख लबशेर विष्ट लगायतले सम्बोधन गरेका थिए । साधारणसभामा यातायात व्यवसायी, सञ्चारकर्मी, जिल्ला स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । करीब २ सयजना कर्मचारी रहेको सो कम्पनी तत्कालिन संस्था दर्ता ऐन २०३४ बमोजिम २०३६ सालमा नारायाणी यातायात व्यवसायी संघको रुपमा दर्ता भएको थियो ।