डेट एक्सपायर ७२ टन चिनी खान योग्य बनाउने राजश्वको प्रयास फेरि विफल
मकवानपुर । राजस्व अनुसन्धान कार्यालय पथलैयाले अखाद्य प्रमाणित भईसकेको चिनी खान योग्य बनाउनका लागि पटकपटक गरेको परिक्षण फेरि पनि असफल भएको छ । सामान्यतयाः राजश्व हिनामिना भएको हेर्ने यो कार्यालयले अखाद्य चिनी खान योग्य बनाएर व्यापारीसँग मिलेर बजार पठाउन गरेको प्रयास असफल भएको हो ।
गत बर्षको फागुन २५ गते महोत्तरीको जलेश्वर भन्सार नाकाबाट आएको चिनी भन्सार हाताको खाद्य क्वारेन्टाईनले म्याद नाघिसकेको र प्रयोग गर्न नमिल्ने प्रमाणित गरेको भएपनि भन्सार कार्यालयको मिलेमतोमा रातारात नेपाल भित्र्याईएको थियो ।
प्रमाणित कागज हेर्नुहोस्

तर सो चिनी उपभोक्ता हित संरक्षण मञ्चको पहलमा बाराको राजश्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो । नेपालको प्रचलित खाद्य ऐन अनुसार म्याद नाघेको, ब्याच नम्बर उल्लेख नभएको खाद्य वस्तु तत्काल नष्ट गर्नुपर्ने प्रावधानलाई लत्याउँदै सो अखाद्य चिनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी तत्कालिन महानिर्देशक मतिना बैद्यको सहयोगमा २ पटक परीक्षण गर्दै खान योग्य बनाईएको थियो । तरपनि सो चिनीलाई उपभोक्ता हित संरक्षण मञ्चले बजार जानबाट रोकेको थियो ।
सोही चिनीलाई राजश्व कार्यालयले २०७७ सालको फाल्गुण १२ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा दुई बोरा चिनी नमूनाको रुपमा परिक्षण गर्न पठाएको थियो । तर सो कार्यालयले प्रयोग गर्न नमिल्ने भन्दै फागुन २८ गते परिक्षण रिपोर्ट पठाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको पत्र

कानून अनुसार खान अयोग्य प्रमाणित भईसकेको चिनी तत्काल नष्ट गर्नु पर्ने भएपनि पटकपटक परिक्षण गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले जिल्ला प्रशासन कार्यालय, बारामा ध्यानाकर्षण पत्र बुझाएको थियो ।
मञ्चले बुझाएको पत्र

प्रशासन कार्यालयले नष्ट गर्न राजश्व कार्यालयलाई निर्देशन दिएपनि राजश्व कार्यालयले जिल्ला प्रशासन कार्यालयको निर्देशन बेवास्ता गर्दै बजार पठाउने प्रयास जारी राखेको मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले आरोप लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालयको पत्र

नियन्त्रण पछि नष्ट गर्नुपर्ने सो परिमाणको चिनी राजश्व अनुसन्धान कार्यालय, पथलैयाको गोदाममा करीब १ बर्षदेखि रहेको छ । सिम्भावली सुगर लिमिटेड इण्डियामा उत्पादन भएको सो चिनी अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको हो ।











