हेटौंडामा अनेरास्ववियुको प्रदर्शन
मकवानपुर । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु मकवानपुरले निर्वाचनको माग गर्दे शुक्रबार हेटौंडामा प्रदर्शन गरेको छ ।
संविधानको सर्वोच्चता र लोकतन्त्रको रक्षाको लागि ‘वि वान्ट इलेक्सन’ (हामी चुनाव चाहन्छौं) भन्दै अनेरास्ववियु मकवानपुरले आज हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको हो । विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’ (हामी चुनाव चाहन्छौं) को नारा लगाएका थिए ।
अनेरास्ववियु मकवानपुरका संयोजक बिशाल पौडेलले संवैधानिक सर्वोच्चता, दलिय व्यवस्थाको सुनिश्चितता, लोकतन्त्रको रक्षा,निर्वाचनको वातावरण नविथोल्न तथा (निर्दलियताको वकालत गरिरहेका दलहरुलाई प्रतिगमनको मतियार नवन्नका लागि खवरदारी गर्दै अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीले प्रदर्शन गरेको बताए ।
‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नारासहित अनेरास्ववियु सडकमा उत्रेको केन्द्रिय सदस्य किशन घिसिङ्गले बताए।
अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिबारे समेत सरकारको ध्यानाकर्षण गराएको केन्द्रिय सदस्य घिसिङ्गले जानकारी दिए ।










