“म छोरी”

हेटौडा न्युज
२७ असार २०७८, आईतवार १५:१२
;

मेरो बिहानीको सुरुवात सबेरै उठेर हुने गर्दछ । उठेपछि घरायसी काम , दाई भाइको स्याहारसुसार अनि चुल्होचौकाको काममा म आफ्नो अधिकांश समय व्यथित गर्ने गर्छु । मलाई अरुले हैन मैले अरुलाई उनीहरुको सन्तुष्टिको बारेमा सोध्ने गर्छु र ती हरेक खालका सम्भव प्रयास गर्छु । सानो गल्तीले मलाई ठूलो कुरा सुनाउँछ –अर्काको घरको भित्ता टाल्ने जात यसरी गल्ती गरेर हुन्छ ? अनि म झसक्क हुन्छु । अर्कातिर किन पढ्नु किन अर्काको घरमा जाने जात म झनै मलिन हुन्छु । मलाई आफ्नो चाहनाहरु के छन्, के गर्दा ती चाहनाहरु पूरा हुन्छन् भन्ने कुराको पनि केहि जानकारी हुन दिदैनन् । यी शब्दहरूको प्रहारले सपना देख्ने बाहिर डुल्ने अनि पन्छीहरुको स्वतन्त्रतालाई नियाल्ने मौका मैंले विरलै पाउँछु । हावाको बहाव अनि पानीको गतिलाई कसैले रोक्न सक्दैन र रोक्दा पनि रोक्दैनन् तर मेरो लागि त्यो लागू हुदैन । मेरो त स्वतन्त्रता छेकिएको छ अनि मेरो परिचय मभित्र मात्र सिमित भएको छ । मैले मेरो भाइ र दाइले जस्तो लाउन ,खान अनि खेल्न पाउदिन । जसरी गोठमा बस्ने बाख्रालाई केहि समयका लागि चराउन लगिन्छ अनि पुनःगोठमा नै ल्याएर थुनिन्छ मेरो जिन्दगी पनि घरको चार भित्तामा मात्र सिमित भएको छ कारणःम छोरी भएकोले ।
ओहो २१ औँ शताब्दी अहिले त जहाँतही स्वतन्त्रताको लहर छाएको र आवाज गुन्जयमान छ । अब मैलेपनि म माथि लागु भएका बन्धनहरु लाई फुकाएर ती सारा क्रियाकलापहरू गर्न पाउँनेछु जो म गर्न चाहन्छु । फूलको रस चाख्दै उडेका रङ्गीचङ्गी पुतलीले जस्तै म पनि अब स्वतन्त्रताको रस चाख्न पाउँछु । मन प्रफुल्लित छ । आखाँभित्र नयाँ नयाँ सपनाका कल्पित दृश्य खेलिरहेका छन् । तर एक्कासी अनौठो घटना मेरो अगाडि आएर तेर्सिन्छ । भित्तामा भएको टिभी बोल्दै छ , आज १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्या भएको छ तर हत्याराको पत्ता नलागेको अनि थप अनुसन्धान भइरहेको छ ।

पुनः मेरो प्रफुल्लित मनलाई कालो बादलले ढपक्कै ढाक्यो । उनी त साथीको घरमा पढ्न गएकी थिइन् रे । कठै सम्झिदा पनि मन सिरिङ्ग भयो । मेरो घरमापनि कुराकानीको विषय बन्यो, अनि सबैको ध्यान मतिर केन्द्रीत थियो कारण म छोरी भएकोले । घटनाहरु दिनप्रतिदिन बढ्दै छन् सामाजिक सन्जाल तातिएको छ खबर माथि खबर, आज एक युवती वेपत्ता भइन् , एक युवतीको बलात्कारपछि हत्या भयो । यस्ता समाचारले मनमा डरको आँधी चलेको छ । उता न्यायको माग गर्दै आफन्त र स्थानीयबासी सडकमा उत्रिएका छन् । हत्यारा अझै पत्ता नलागेको अनि कानुन फितलो भएको जस्ता अभिव्यक्तिहरु भटाभट समाचारमा आउदै छन् । यता भने मेरा बाबुआमाको गह भारी भएको छ । अनि वेलावेलामा मलाई हेर्दे भन्नुहुन्छ ,कस्तो वेला आयो नि मान्छे कति निर्दयी हुन सकेका । म निर्धक्कसँग आकलन गर्न सक्छु ती घटनाका पीडित छोरीहरुमा उहाँहरुले मलाई कल्पना गरिरहनु भएको छ र उहाँहरुको मनमा डरको ठूलो पहाड खडा भएको छ कारण म छोरी भएकोले । म आज साथीको घर जान्छु है ? भनेर मैले अनुमति माग्दा धेरै समय सोचेर आमाले भन्नु भयो “एक्लै नजा दाईलाई साथ लिएर जा काल–जवाना ठिक छैन“ अनि मसँग बोल्ने शब्द केहि छैन म निशब्द हुन्छु केहि नभनि उहाँहरुको सल्लाहलाई आत्मसात गर्छु , कारण उहाँहरुको मनमा डर प्रचुर मात्रामा भरिएको छ । हिजो फलानोको छोरीमाथि त्यो घटना घटेको थियो कतै आज….भन्नलाई अनि सोच्नलाई साहस नआउने कुरा । उहाँहरुको त्यो डरमा मप्रतिको प्रेम व्याप्त छ तर मलाई स्वतन्त्रतामा रमाउन मन छ । मलाई पखेटा काटिएको विवश चरी बन्न मन छैन् । मलाई स्वतन्त्रताको स्वाद चाख्न मन छ । निडर भएर जस्तो सुकै अन्धकारको बाटोलाई चिरेर उज्यालो पथमा दौडिनु छ । तर यी मेरा चाहनाहरु चाहनामा नै सीमित हुने भए । समाजमा अपराध गरेर अपराधीहरु खुलेयाम हिडिरहेका छन् । कुन दिन मेरो पालो आउने हो ठुलो डर छ यो मनमा अनि उहि निर्मला र सम्झनालाई सम्झिन्छु । यी सबैको एउटै कारण छ, “म छोरी” ।
–आशिका पुडासैनी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*