मकवानपुरमा अधिकांश व्यवसाय र यातायात खुल्ला, कागजमा १० दिन निषेधाज्ञा थप
मकवानपुर । कोरोना सङ्क्रमणका कारण मकवानपुरमा जारी गरिएको निषेधाज्ञालाई थप १० दिन लम्ब्याईएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्लामा जारी निषेधाज्ञालाई थप १० दिन लम्ब्याउने निर्णय गरिएको जानकारी दिए । बुधबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले थप १० दिन निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताए ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञा २४ गते सम्मको लागि रहने छ । जिल्लामा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या नघटेको र सङ्क्रमणको जोखिम कायम रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रजिअ पाण्डेले बताए । तर पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाएपछि बजारमा अत्याधिक भिडभाड देखिन थालेको छ ।
कागजमा मात्र निषेधाज्ञा थपिएको अवस्था मकवानपुरमा देखिएको छ । बजारमा बढेको भिडभाडले जिल्लामा थप सङ्क्रमण बढ्नसक्ने खतरा उत्तिकै बढेको छ । प्रशासनले निषेधज्ञामा बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यान्न व्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य व्यवसायहरु सञ्चालन गर्न अनुमति दिएको छ ।
जिल्लामा निजी तथा सार्वजनिक यातायात संचालन भईरहेको छ । कागजमा मात्र थपिएको निषेधाज्ञाले सङ्क्रमण अझै बढ्न सक्ने खतरा कायमै रहेको छ ।










