दक्षिण एशियाकै पहिलो सुरुङमार्गको पुनर्निर्माण सुरु
मकवानपुर । हेटौंडाको चुरियामाईमा रहेको दक्षिण ‘एशियाकै पहिलो’ सुरुङमार्गको पुनर्निर्माण सुरु भएको छ ।
आज बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त सुरुङमार्ग पुनर्निर्माणको शिलान्यास गरेका छन् । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डाक्टर सहदेव बहादुर भण्डारीले यो एसियाकै पहिलो सुरुङमार्ग भएको दावी गरे । सुरुङमार्गलाई बागमती प्रदेश सरकारले ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ को लागतमा पुनर्निर्माण गरेर फेरि सञ्चालनमा ल्याउन लागेको हो ।
सुरुङमार्गको पुननिर्माणको ठेक्का माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड स्युचाटार, काठमाडौंले पाएको छ । सुरुङमार्गको पुनर्निर्माण २०७९ साल बैशाख सम्म सक्ने लक्ष्य छ । सुरुङमार्गको एक सय १८ मिटर लम्बाई, २ दशमलव ५ मिटर चौडाई र ३ मिटर उचाई रहेको छ ।
भुकम्पले भएको क्षतिको पुनर्निर्माण, टनेल मजबुत गर्ने र पहिरोले क्षति भएको भागलाई मर्मत गर्न लागिएको हो । यो सुरुङमार्ग पुनर्निर्माणपछि मात्रै कसरी प्रयोगमा ल्याउने भन्ने निर्णय हुने भण्डारीले बताए ।










