बीबीएम सङ्कायमा मकवानपुरका छात्र नेपालमै दोस्रो
मकवानपुर । त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत छात्र बीबीएम सङ्कायमा नेपाल द्वितीय भएका छन् ।
ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) सङ्कायको तेस्रो सेमेष्टरको परीक्षाको नतिजामा मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी मोहित घिमिरे नेपाल द्वितीय भएका हुन् ।
उनले सो सङ्कायको तेस्रो सेमेष्टरमा ३ दशमलब ९६ एसजीपीए प्राप्त गरेका छन् । घिमिरेले प्राप्त गरेको अङ्क मकवानपुर क्याम्पसमा बीबीए/बीबीएम सङ्कायमा अहिले सम्मकै उच्च अङ्क रहेको बीबीए/बीबीएम कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिएका छन् ।
विगत बर्षहरुमा समेत बीबीएम सङ्कायमा उत्कृष्ट नतिजा ल्याउन सफल मकवानपुर बहुमुखी क्याम्पस सो सङ्कायको तेस्रो सेमेष्टरका २२ जनाले एसजीपीए ३ दशमलव ७० भन्दा बढी प्राप्त गरेका छन् । यस्तै १६ जना विद्यार्थीहरु प्रथम श्रेणीमा उर्तिण भएका छन् । बीबीए/बीबीएम सङ्कायमा हाल ४ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बीबीए/बीबीएम कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिएका छन् ।
बीबीएम सङ्कायको तेस्रो सेमेष्टरको नतिजाको उत्कृष्टताको आधारमा मकवानपुर बहुमुखी क्याम्पस नेपाल प्रथम भएको निर्देशक सिंहले जानकारी दिए ।










