आज देशभर जनैपूर्णिमा (रक्षाबन्धन) पर्व मनाइँदै
मकवानपुर । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन अर्थात जनै पूर्णिमा पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
रक्षा बन्धनमा तराई मधेशमा राखी बाँध्ने परम्परा छ । पूर्णिमाका दिन बिहानै वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गर्ने प्रचलन छ ।
रक्षासुत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।










