हेटौंडामा गाईजात्रा पर्व मनाईयो
मकवानपुर । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज हेटौंडामा मनाईएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा आज गाईजात्रा पर्व भव्य रुपले मनाईएको हो । सोमबार बिहान हेटौंडा २ मा रहेको कृष्ण मन्दिरबाट शुरु भएको गाईजात्रा हेटौंडा बजार हुदैं हेटौडा १० बसपार्कमा अन्त्य गरिएको थियो ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजको दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
तत्कालीन राजा प्रताप मल्लले छोराको निधनले शोकमा रहेकी महारानीलाई खुशी बनाउन यो परम्पराको शुरुवात गरेको इतिहास रहेको छ । राजा प्रताप मल्लले शहरमा आफ्नो छोरा युवराज जस्तै प्रजाहरुका समेत छोराको निधन भएको भन्दै सान्त्वना दिन शहरमा निधन भएकाहरुको परिवारले साङ्केतिक रुपमा झाँकी, प्रहसन गर्दै मजाक गर्दै हसाउँदै शहर परिक्रमा गर्ने परम्परा बसोलेका थिए । विशेषतः नेवार समुदायले मनाउने चाडको रुपमा लिईन्छ । आजको दिनलाई वाक् स्वतन्त्रताका रूपमा समेत लिने गरिन्छ ।










