बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिको कार्यकक्षमा तोडफोड
मकवानपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा एक समूहले तोडफोड गरेको छ ।
सोमबार धरानस्थित प्रतिष्ठानमा काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेका हुन् । बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारदेखि चिकित्सकहरुले आकस्मिक बाहेकका काम छाडेका छन् ।
सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् । काम छाडेको विरोधमा एक समुहले प्रदर्शन गर्दै उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन् ।
आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला प्रदर्शनकारीले फोडेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाल दिउँसो केही समय प्रदर्शन भएपछि अवस्था सामान्य रहेको बताए ।










