सरकारी कामकाजका लागी बागमती प्रदेशमा नेपाली सहित तामाङ् र नेपाल भाषा सिफारिस
मकवानपुर । भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ ।
सोमवार प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डाक्टर लवदेव अवस्थीले भाषासम्बन्धी सिफारिस सहितको प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सातै प्रदेशमा आयोगले बहुसाङ्ख्यिक नागरिकहरुले बोल्ने भाषाका आधारमा सरकारी कामकाजको भाषाका आधार निर्धारण गरेको छ ।
बागमती प्रदेशमा १८ दशमलव ३२ प्रतिशत तामाङ भाषा र १२ दशमलव ३० प्रतिशत नेपालभाषा बोल्ने गर्दछन् । बागमती प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा तामाङ् र नेवार भाषालाई सिफारिस गरिएको छ । यस प्रदेशमा नेपाली भाषा बोल्ने ५७ दशमलव ४२ प्रतिशत मानिसहरु छन् ।
यस्तै प्रदेश १ मा मैथिली र लिम्बूू, प्रदेश २ मा मैथिली, भोजपुरी र बज्जिका, गण्डकीमा मगर, गुरुङ र भोजपुरी, लुम्बिनीमा थारु र अवधी, कर्णालीमा मगर र सुुदूरपश्चिममा डोट्याली र थारु भाषा सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित सिफारिस गरिएको छ ।










