सीसीडिएनद्वारा मकवानपुरका ४ स्थानीय तहलाई ४५ लाख बराबरको स्वास्थ्य समाग्री सहयोग
मकवानपुर । सामुदायिक विकास केन्द्र नेपाल (सीसीडिएन) ले मकवानपुरका ४ वटा स्थानीय तहहरुलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
केन्द्र दोस्रो लहरको कोभिड महामारीमा सहयोग पुग्ने उदेश्यका साथ जिल्लाका ४ स्थानीय तहलाई करीब ४५ लाख बराबरका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो । किया र ईको कोअपरेशनको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र नेपाल (सीसीडिएन) ले मकवानपुरका ४ वटा स्थानीय तहहरुलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उक्त स्वास्थ्य सामग्री थाहा नगरपालिका, कैलाश गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तर गरेका हुन् । सो अवसरमा प्रमुख खुलालले केन्द्रले मकवानपुरमा रहेर निरन्तर स्थानीय तहहरुलाई सहयोग पु¥याएको बताए । उनले सीसीडीएनले भुकम्पका बेला यस्तै कोरोनाको पहिलो लहका बेला समेत जिल्लामा सहयोग प्रदान गरेकोमा धन्यवाद समेत व्यक्त गरे । आगामी दिनमा सहमेत सहयोगको अपेक्षा रहेको भन्दै प्राप्त गरेका स्वास्थ्य सामग्रीहरुको उचित प्रयोग र संरक्षणमा ध्यान दिन स्थानीय तहहरुलाई उनले आग्रह गरे ।
केन्द्रले स्थानीय तहहरुलाई जनसंख्याका आधामा पीपीई कीट, ग्लोब्स, मास्क, फेस सिल्ड, सेनीटाईजर, एन्टीजेन किट, फ्रिजर, डिफ्रिज, भ्याक्सिीन क्यारीयर, सेनिटाईजर डिभाईसलगायत १५ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।केन्द्रका कार्यकारी निर्देशक महेन्द्र जर्गाको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालगायत संस्थाका कर्मचारीहरुको उपस्थिी थियो ।










