सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको सूचना
मकवानपुर । गत साउनदेखि सम्पर्क विहीन भएका ११ जना प्रहरीहरुलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गर्दे उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनेको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिइएको छ ।
गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत छन् । यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।











