बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ११ पुग्यो, ३३ जना बेपत्ता
मकवानपुर । गत कात्तिक १ गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ११ पुगेको छ ।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ११ पुगेको पुष्टि गरेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् । प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको हो ।
यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा २ जना, प्रदेश २ र कर्णालीमा १÷१ जना बेपत्ता भएका छन् । साथै प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा एक जना गरी जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।











