नेपाल संवत् ११४२ विधिवत रुपमा सुरु
मकवानपुर । आज नेपाल संवत् ११४२ विधिवत रुपमा सुरु भएको छ ।
शुक्रबार विहान भक्तपुरको थिमि चोक पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले शंखधर साख्वाको नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको बताए ।
राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।