मुख्यमन्त्री पाण्डेले आज प्रदेशसभामा विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।
यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएर पदबाट राजीनामा दिएपछि सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का नेता पाण्डे मुख्यमन्त्री बनेका थिए । पाण्डेले विश्वासको मत लिनका लागी आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दैछ । स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।
उनी गठबन्धनका दल नेपाली कांगेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी नेपालको समर्थनमा ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल छ । विश्वासको मत लिएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।१ सय ९ सिट रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक हुन्छ ।
गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर छ । एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको ३, नेमकिपा र राप्रपाको २–२ तथा जसपाको १ सिट छ ।