सवारी दुर्घटनामा माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज बन्जाडेको मृत्यु
मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा मृत्यु भएको छ ।
रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । दाङबाट बुटवल फर्कदै गर्दा गएराति साढे ९ बजेतिर ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनी घाइते भएका थिए । घाइते भएपछि बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६ बजे बन्जाडेको मृत्यु भएको नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जीसीले जानकारी दिए ।
दाङमा घाइते अपाङ्गहरुको बैठकमा सहभागी भएर फर्किंदै गर्दा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शहिद स्मृती प्रतिष्ठान बुटवलका अध्यक्ष समेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हुन् । उनी अखिल (क्रान्तिकारी)को पूर्व महासचिव समेत हुन् ।