अर्थमन्त्रालयका पूर्व शाखा अधिकृत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

हेटौडा न्युज
२३ मंसिर २०७८, बिहीबार १६:३०
;

मकवानपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयका पूर्व शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विभिन्न कार्यालयमा काम गर्दा स्रोत नखुलेको १ करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँ २५ पैसा आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०४० फागुन ६ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थपलियाले २०७५ चैत ३० गते अवकाश हुनुअघिसम्म २ करोड ६७ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेका थिए । जसमा उनको वैध आय १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।

त्यसमध्ये एक करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँ भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै अख्तियारले उक्त रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ । अवैध आर्जनको सम्पत्ति उनले श्रीमती मुना पन्त थपलियाको नाममा घरजग्गा तथा बैंक खाताहरुमा राखेको अख्तियारको भनाइ छ । अख्तियारले उनको श्रीमतीलाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*