नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन सुरु हुँदै
मकवानपुर । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।
भृकुटीमण्डपमा दिउँसो एक बजे उदघाटन समारोह हुनेछ । भृकुटीमण्डपलाई कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सजाइएको छ ।मञ्चमा एक सय बढी नेता अटाउने गरी व्यवस्थापन गरिएको छ । भृकुटीमण्डप अगाडिको सडक प्रदर्शनीमार्गमा समारोह प्रत्यक्ष हेर्न मिल्ने डिजिटल डिस्प्ले राखिएको छ । प्रदर्शनीमार्गमा सवारी साधनहरुलाई प्रवेश निषेध गरेर पैदलयात्रुहरुका लागि मात्र खुल्ला गरिएको छ । काङ्ग्रेसको प्रचार समितिले काठमाडौंका बिभिन्न स्थानमा स्वागतद्वार निर्माण गरेको छ । महाधिवेशनलाई लक्षित गरी ३ सय ५० ट्राफिक प्रहरीहरुसहित नेपाल प्रहरीको पाँच हजार बढी जनशक्ति परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
महाधिवेशनमा सहभागी हुन आएका चार हजार सात सय प्रतिनिधिहरुले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । प्रतिनिधिहरुले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन् । कोषाध्यक्ष भने सभापतिको प्रस्तावमा केन्द्रीय सदस्यहरूले अनुमोदन गरेर चयन गर्ने व्यवस्था छ ।