जनजाती आयोगद्वारा बागमती प्रदेशका प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश
मकवानपुर । आदिवासी जनजाती आयोगले आज आइतबार बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।
आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रदेश प्रमुख शर्मालाई आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनमा आदिवासी जनजातिका सवाल, आदिवासी जनजाति आयोगले सम्पादन गरेका काम कारवाही लगायतका विषय समेटिएको आयोग अध्यक्ष थापामगरले जानकारी दिए । आयोगले सातै प्रदेशमा आफ्नो वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रम अनुसार बागमती प्रदेशमा पनि प्रतिवेदन बुझाइएको अध्यक्ष थापाले बताए । प्रतिवेदन बुझ्दै हुदै प्रदेश प्रमुख शर्माले आदिवासी जनतातिलाई राज्यको पहुँचमा ल्याउनका लागि आयोगलाई लागिपर्न सुझाव दिए । आदिवासी जनजातीको शिप, श्रम तथा जाँगरको सम्मान गर्दै उनीहरुको उत्थान हुने खालका कार्य योजनाहरु अघि बढाउनुपर्ने उनको भनाई थियो ।
प्रतिवेदन बुझाउने कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, आयोगका सचिव भोला दाहाल, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारस मणि फुयाल लगायतको उपस्थिती थियो ।