देउवाविरुद्ध सबै एक हुन्छौं: निधि
मकवानपुर । नेपाली काङ्ग्रेस सभापति पदका प्रत्याशी विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनबाट भएपनि शेरबहादुर देउवालाई पराजित गर्ने बताएका छन् ।
महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा सभापतिको कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने दावी गरे ।‘पहिलो चरणमा कसैको पनि बहुमत आउँदैन । दोस्रो चरणमा देउवाविरुद्ध सबै एक हुन्छौं’, निधिले भने ।
पार्टीभित्र सर्वसम्मतिका लागि आफूले प्रयास गरेपनि सफल नभएको भन्दै निधिले नेतृत्व परिवर्तनका लागि सबै एकै ठाउँ उभिनुपर्ने बताए । उनले महाधिवेशनबाट कांग्रेस नेतृत्व परिवर्तन गर्ने तथा महाधिवेशनपछि सरकारको नेतृत्वसमेत परिवर्तन गर्ने दावी गरे ।