एक किलो ३ सय ११ ग्राम सुनसहित ५ जना बङ्गलादेशी नागरिक पक्राउ

हेटौडा न्युज
२९ मंसिर २०७८, बुधबार १३:५१
;

मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३ सय ११ ग्राम सुनको विस्कुट आकारको वस्तु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन् । पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २ सय १६ ग्राम, युनुसको साथबाट २ सय ३३ ग्राम, सोभानको साथबाट एकसय ग्राम, जाहिलदुलको साथबाट ३ सय ३२ ग्राम र मिराजुलको साथबाट ४ सय ३० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै मंगलबार बङ्गलादेश जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोला परीक्षण गर्दा उक्त सुन फेला परेपछि नियन्त्रणमा लिइएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*