अवधि बाँकी हुँदै, राजीनामा दिनथाले शिक्षकहरु
मकवानपुर । मङ्सिर महिनामा ३ सय ६८ जना शिक्षकले राजीनामा दिएका छन् ।
राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले जागिरको अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको संख्या धेरै देखिएको बताए । उनका अनुसार मङ्सिर महिना मात्रै ३ सय ६८ जनाले शिक्षकले समयावधि छँदै निवृत्तिभरण पत्र लिएका छन् । मङ्सिर महिनामा समयावधि बाँकी हुँदै निवृत्तिभरण पत्र लिनेको चाप बढेपछि विश्लेषणको लागि तथ्याङ्क निकालेको महानिर्देशक खकुरेलले बताए । विभिन्न पार्टीको कार्यसमितिमा रहेका, दरबन्दी मिलान हुँदा अर्को स्थानीय तह वा जिल्लामा खटाइएका, जागिर छाड्दा स्थानीय तहको आकर्षक प्रोत्साहन भत्ता पाउने र आउने निर्वाचनमा भाग लिन चाहेका शिक्षकहरुले निवृत्तिभरण पत्र लिएको राष्ट्रिय किताबखाना (शिक्षक) कार्यलयले जनाएको छ । कति शिक्षकले कुन कारणले राजीनामा दिए भन्ने विषयमा भने अहिले नै भन्न नसकिने महानिर्देशक खकुरेलले बताए ।
उनका अनुसार मङ्सिर महिनामा अनिवार्य अवकाश पाउने २ सय ६४, मृत्यु हुने १४ र उपदान लिने गरी अवकाश भएका ३४ गरी ६ सय ८० शिक्षक पद खाली भएको छ । चालु आर्थिक वर्षमा अनिवार्य अवकाश लिनेको सङ्ख्या करीब २७ सय रहेकामा साउनदेखि मङ्सिरसम्मको पाँच महिनाको अवधिमा मात्रै २ हजार ६० जनाले निवृत्तिभरण पत्र बुझिसकेका छन् ।