बागमती प्रदेशमा कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र २०७८ सार्वजनिक
मकवानपुुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र २०७८ सार्वजनिक गरेको छ ।
मन्त्रालयले बुधबार एक कार्यक्रमको आयोजना गरी सो मार्गचित्र सार्वजनिक गरेको हो । बागमती प्रदेशमा गठबन्धनको सरकार बनेपछि कृषिमन्त्री नियुक्त बसुन्धरा हुमागाँईले कृषि मन्त्रालयमा आफ्नो योजनाको रुपमा मार्गचित्र अघि सारेका छन्। ‘आत्मनिर्भर कृषि–समृद्ध प्रदेश’ को अवधारणासहित मन्त्रालयले ५१ बुँदे मार्गचित्र तयार पारेको छ । जसमा ‘स्वस्थ माटो, कृषि उत्पादनको मूल बाटो’ अभियान सार्थक बनाउन स्थानीय तहहरुमा डिजिटल माटो परीक्षण प्रविधि हस्तान्तरण गरिने जनाइएको छ ।
त्यसैगरि ‘प्रदेशको शान, मौलिक कृषि हाम्रो पहिचान’ अभियानसहित रैथाने बालीको पहिचान, संरक्षण तथा संवर्द्धन गर्ने, कृषिबाली वस्तुको तोकिएको न्यूनतम मूल्यमा प्रतिकिलो २ रुपैयाँको दरले प्रोत्साहन अनुदान उपलब्ध गराउने, किसानले उत्पादन गरेको कृषि उपज बिक्री नभएको अवस्थामा न्यूनतम समर्थन मूल्यमा खरिदबिक्री गर्ने, कृषि मेसिनरी उद्योग स्थापनामा सहयोग गर्ने, माघको २५ देखि फागुन २ गतेसम्म भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्व खोप अभियान सञ्चालन गर्ने लगायत कार्यक्रम मार्गचित्रमा उल्लेख छन् । मार्गचित्र सार्वजनिक कार्यक्रममा प्रदेशका कृषिमन्त्री हुमागाँईले प्रदेशको कृषिलाई विकसित गर्दै किसानहरुको जीवनस्तरमा सुधार ल्याउन मार्गचित्र बनाएको बताए ।










