कार दुर्घटना हुँदा एकजनाको मृत्यु
मकवानपुुर । कार दुर्घटना हुँदा भक्तपुरमा एकजनाको मृत्यु भएको छ ।
मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका–१५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका साहको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । दुर्घटनामा कार चालक सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय सबिन घिसिङ घाइते छन् ।
उनको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नयाँथिमीबाट गठ्ठाघरतर्फ जाँदै गरेको उक्त कार गएराति करिब पौने ९ बजे सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । कार अनियन्त्रित भई ट्याक्सी र बसलाई समेत ठक्कर दिएको थियो । ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका वडा नं. १२ घर भई हाल ललितपुरको टीकाथली बस्ने ३२ वर्षीय भीमसेन खत्री सामान्य घाइते भएका छन् । उनी उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।










