युनिलिभरको म्याद गुज्रिएको साँढे ७३ टन चियापत्ति नष्ट
मकवानपुुर । बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद गुज्रिएको साँढे ७३ टन चियापत्ति जिल्ला प्रशासन कार्यालय मकवानपुरले नष्ट गरेकोे छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले म्याद गुज्रिएको चियापत्ति सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० राप्तीखोला स्थित डम्पिङ साइडमा नष्ट गरेको छ । कार्यालयले उक्त चियापत्ति जिल्ला प्रशासन कार्यालय मकवानपुरको गत मंसिर १२ गतेको फैसला तथा पुस १८ गतेको फैसला कार्यान्वयन गर्ने निर्देशन अनुसार खाद्य नियमावली बमोजिम नष्ट गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको अगुवाइमा प्रशासनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ स्थित युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रबाट बरामद भएको ७३ हजार ५ सय ५६ किलो म्याद गुज्रिएको चियापत्ति नष्ट गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले गत भदौ १५ गते उद्योग अनुगमनाका क्रममा उद्योगको चिया प्रशोधन केन्द्रबाट म्याद गुज्रिएका, लेवल स्पष्ट नभएका चियापत्ति फेला परेपछि प्रशासनले उद्योगको चिया प्रशोन केन्द्र शिल गरेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा संचारकर्मीहरुको रोहबरमा शिल काटेर उक्त चिया नष्ट गरेको हो । नष्ट गरिएको चियापत्तिको बजार मुल्य एक करोड ७९ लाख रुपैयाँ रहेको बताईएको छ ।










