६५ औं सहकारी दिवस भब्यरुपमा मनाईने
मकवानपुर । मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी भन्ने नाराका साथ ६५ औं सहकारी दिवस बिभिन्न कार्यक्रम गरी भब्यरुपमा मनाईने भएको छ ।
बागमती प्रदेशमा सहकारी दिवस मनाउनको लागि प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल आयोजक समिति गठन भएको छ । समितिको सह–संयोजकमा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे र सदस्य सचिवमा बागमती प्रदेश सहकारी महाशाखाका कानुन अधिकृत प्रकाश चापागाई रहेका छन् ।
बागमती प्रदेशको राजधानी हेटौडामा मूल कार्यक्रम हुनेछ । भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रम सहित सहकारी दिवस मनाईने संयोजक देवकोटाले बताए । सहकारी दिवसको अवसरमा मूल आयोजक समितिले बागमती प्रदेशको राजधानी हेटौंडामा रक्तदान कार्यक्रम, हेटौंडा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण र २० गते भुटनदेबी बिद्यालयको चौरबाट ¥याली सुरु गरी रोयल पार्टी प्यालेसमा प्रवचन, सम्मान तथा पुरस्कार सहित समापन गर्ने कार्यक्रम तय भएको संयोजक देवकोटाले बताए ।










