३५ किलो लागूऔषध गाँजा सहित ५ जना नियन्त्रणमा
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राऊ गरेको छ ।
पूर्वपश्चिम लोकमार्ग सडक खण्डमा चितवन तर्फबाट हेटौडा तर्फ जाँदै गरेको बा ८ ख ८१०६ नं. को यात्रुवाहक बसलाई चेकजाँच गर्दा सो परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले चितवन राप्ती नगरपालिकाका बर्ष १९ को सरोज तामाङ, बर्ष २५ को सूर्यबहादुर स्याङबो, बर्ष २८ को होमनाथ मुक्तान, बर्ष २५ को यमराज मुक्तान र बर्ष ३४ को एबी लाल तामाङ्लाई नियन्त्रण लिएको छ ।
पक्राऊ परेकाहरुबाट झोलामा लुकाई ल्याएको लागुऔषध गाँजा ३५ किलो फेला परेको थियो । मकवानपुर प्रहरीले पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्वाही प्रक्रिया अघि बढाएको छ ।










