३५ किलो लागूऔषध गाँजासहित हेटौंडाका २ जना पक्राउ
मकवानपुर । हेटौंडाका २ जनालाई ३५ किलो लागूऔषध गाँजासहित प्रहरीले बाराबाट पक्राउ गरेको छ ।
बिहीबार बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट प्रहरीले ३५ किलो लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ वनस्पति बस्ने ३९ वर्षीय सजन स्याङ्गतान र ३५ वर्षीय भुवन तितुंग रहेका छन् ।
हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह २८८८ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी चालक सजन र अटोमा सवार भुवनलाई पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










