मकवानपुरगढीमा सवारी दुर्घटना हुँदा ८ जना घाइते
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–२ जीपलाइन नजिकै सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
दुर्घटनामा परी वीरगञ्ज महानगरपालिका वडा नम्बर–२९ र ३० का नवनिर्वाचित वडा अध्यक्षहरु ३२ वर्षीय मनोज कुमार यादव र ५२ वर्षीय धर्मेन्द्रप्रसाद महतो थारुसहित ८ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा वडा नं २४ का वडा सदस्य ३० वर्षीय सद्दाम हुसेन आलम, वडा नम्बर–२५ का वडा सदस्य ३१ वर्षीय जगदिश साह र वडा नम्बर–३२ की दलित महिला सदस्य ३१ वर्षीया पुजादेवी राम पनि घाइते भएकी छिन् । उनीहरुको निधार, टाउको, गाला, हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था चिन्ताजनक नरहेको जनाइएको छ ।
दुर्घटनामा चालक वीरगञ्ज–२० बस्ने भानु यादव, वडा नम्बर–१७ का श्रवण यादव, वीरगञ्ज– २४ बस्ने ४० वर्षीय सन्त यादव पनि घाईते भएका छन् । सवारी चालक भानु भने दुर्घटनापछि फरार छन् । शुक्रबार बिहान साढे १ बजे जीपलाइनस्थित कान्तिलोकपथ सडकखण्डमा गढी दरबारतर्फबाट आउँदै गरेको ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप अनियन्त्रितत भई दुर्घटना भएको थियो । वीरगञ्ज महानगरपालिकामा शुक्रबार हुने कार्यपालिकाको निर्वाचनका लागि उनीहरु वीरगञ्ज जाँदै थिए ।










