हेटौंडाका वडाहरुमा बजेट सिलिङ तोकियो, कुन वडामा कति ?

हेटौडा न्युज
५ असार २०७९, आईतवार १४:३२
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को विनियोजित बजेटमा १९ वटै वडाले पाउने रकम बढाउने भएको छ ।

आगामी आव २०७९÷०८० मा १९ वडामा पाँच वर्षदेखि तोकिएको सिलिङभन्दा ५ करोड ७० लाख रुपियाँ थपिने भएको हो । नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा जेठ २६ गते बसेको स्रोत अनुमान समितिको बैठकले प्रति वडा ३०÷३० लाख रुपैयाँ सिलिङमा थप गरेर पठाउने निर्णय गरेको थियो । सिलिङ थप गरेसँगै हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडाका लागि ३६ करोड ५० लाख रुपैयाँ बजेट पठाएको छ । चालु आर्थिक वर्षहरूमा उपमहानगरका वडाहरूले गरेको कार्यक्रम तथा योजनाहरुको कार्यान्वयनको आधारमा बजेट सिलिङ थप गरेर पठाइएको मेयर लामाले बताइन् । वडागत बजेट सिलिङ तोकिएर वडाहरुमा गएसँगै योजना छनोटको कार्यहरु चलिरहेको छ । वडाहरुवाट बजेट सिलिङ आएपछि हेटौंडा उपमहानगरपालिकाले असार १० गते नगर परिषद् भेलाको आयोजना गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

वडा र विविध व्यवस्थापनका लागि वडागतरुपमा ५÷५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताए । १९ वटै वडाका लागि वडा व्यवस्थापनतर्फ ९५ लाख रुपैयाँ र विविध व्यवस्थापनकातर्फ पनि ९५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हो । सिलिङ अनुसार वडा नम्बर १, १२, १३, १४ ,१५, १६ र १७ मा २÷२ करोड १०÷१० लाख बजेट सिलिङ तोकिएको छ भने वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ मा १ करोड ८५ लाख रुपैयाँ तोकिएको छ ।सिलिङअनुसार वडा नम्बर १८ मा २ करोड २५ लाख र वडा नम्बर १९ भने २ करोड ५० लाख रुपैयाँको बजेट सिलिङ तयार गरिएको उपमाहानगरले जनाएको छ । ३८ करोड ४० लाख रुपैयाँको बजेट सिलिङ रहेकोमा ३६ करोड ५० लाख रुपैयाँ बराबरको मात्र बजेट सिलिङ तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए ।–अनलाइनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*