राजस्व बक्यौता रकम नतिर्ने क्रसर उद्योगहरुमा गाउँपालिकाले लगायो ताला

मकवानपुर । मकवानपुरमा रहेको मकवानपुरगढी गाउँपालिकाले राजस्वको बकयौता रकम नतिर्ने क्रसर उद्योगहरुमा ताला लगाएको छ ।
शनिबार गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको संयोजकत्वमा वडा नम्बर–५ र वडा नम्बर–६ का अध्यक्ष र प्रहरी सहितको टोलिले राजस्व बक्यौता रकम नतिर्ने क्रसर उद्योगहरुमा ताला लगाईदिएको हो । गाउँपालिकाकाले पटकपटक ताकेता गर्दा समेत क्रसर उद्योगहरुले राजस्वको बक्यौता रकम नतिरेपछि गाउँपालिकाले वडा नम्बर–५ को ३ वटा, वडा नम्बर–६ को १ वटा र वडा नम्बर–२ को १ वटा गरी ५ वटा क्रसर उद्योगहरुमा ताला लगाईदिएको छ ।
पटक पटक समय थप गरेर उद्योगीहरुसँग छलफल गर्दा समेत राजस्वको बकयौता रकम नतिर्ने क्रसर उद्योगहरुमा ताला लगाईएको गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले बताईन् । गाउँपालिकाको अभिलेख अनुसार २०७७ सालदेखि ५ वटा उद्योगहरुले गाउँपालिकालाई राजस्वको बक्यौता रकम बुझाउन बाँकी छ । गाउँपालिकालाई साईबाबा क्रसर उद्योगले २८ लाख , आमभञ्याङ् एगृगेटले २८ लाख , सामरी खोला बालुवा उद्योगले ४५ लाख, आधुनिक नमुना क्रसरले २३ लाख र नमुना बालुवा उद्योगले ३० लाख रुपैयाँ राजस्व बक्यौता रकम बुझाउन बाँकी छ ।