सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आज लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । उनलाई सुन्धारा कारागार पठाइएको जिल्ला अदालत स्रोतले जनाएको छ ।
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो। मंगलबार सन्दीपले अदालतमा बयान दिएका थिए भने बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो।
काठमाडौं जिल्ला अदालतको आदेशसँग अब सन्दीप कारागारमा बसेर मुद्दा लड्नुपर्ने हुन्छ । तर, जिल्ला अदालतको यो निर्णयविरुद्ध उनी उच्च अदालत जान सक्छन् ।
उच्च अदालतले पनि जिल्लाको निर्णय सदर गरेको खण्डमा मुद्दा नसकिएसम्म जेलमै बस्नुपर्ने हुन्छ ।