हेटौंडा उपमहानगरको बजेट संशोधन,योजना कार्यावन्यनमा हेटौंडा १४ प्रथम

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । उपमहानगरपालिद्वारा हेटौंडामा आयोजित नगर परिषद् बैठकमार्फत् चालू आवको बजेटलाई संशोधन गरी रु तीन अर्ब पाँच करोड पुर्याइएको छ ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँद्वारा सो बैठकमा प्रस्तुत प्रगति प्रतिवेदनमार्फत् जानकारी दिइएको हो ।
गत असारमा सम्पन्न ११औं नगर परिषद्वारा चालू आवका लागि २ अर्ब ७१ करोड ७९ लाख रूपैयाँ बजेट पारित गरिएको थियो । तर अघिल्लो आर्थिक वर्षको ३७ करोड रूपैयाँभन्दा बढी जिम्मेवारी सरेर आएको योजना तथा कार्यक्रमको रकम भुक्तानी गर्नु परेकाले बजेट संशोधन गरिएको उहाँले बताए ।
बैठकमा प्रस्तुत प्रतिवेदनमा चालू आवको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने बाँकी अवधिमा गर्नुपर्ने कार्य तथा लक्ष्यको विवरण प्रस्तुत गरिएको थियो ।
चालू आवको मंसिर मसान्तसम्ममा संघीय सरकारबाट समानीकरण तथा ससर्त अनुदानतर्फ ५५ करोड ४६ लाख, प्रदेश सरकारको समानीकरण अनुदानतर्फ ३७ लाख ५० हजार रूपैयाँ, राजस्व बाँडफाँटतर्फ ६ करोड ७लाख ६८ हजार र आन्तरिक स्रोततर्फबाट ८७ करोड ८७ लाख रूपैयाँ आम्दानी भएको उपप्रमुख बानियाँले जानकारी दिए । साथै उपमहानगरपालिकाले २ सय ४८ वटा योजनामध्ये ४८ वटा योजना सम्पन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको सो बैठकमा योजना कार्यावन्यनका आधारमा हेटौंडा-१४ लाई प्रथम र १५ लाई द्वितीय घोषणा गरिएको थियो । प्रथम र द्वितीय वडालाई क्रमशः २० लाख र १५ लाख रूपैयाँ बराबरको योजना अनुदानस्वरुप उपलब्ध गराउने जानकारी दिइएको थियो ।
उक्त अवसरमा प्रमुख लामाले हेटौंडा उपमहानगरपालिकामा जनअपेक्षाअनुरुप विकास निमार्णका साथै शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिएको बताए।