पहिलोपटक बागमतीमा प्रदेश युवा सम्मेलन हुँदै

हेटौडा न्युज
२९ जेष्ठ २०८०, सोमबार १५:३५
;

हेटौंडा । बागमती प्रदेश युवा परिषद्ले असार ११ र १२ गते हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलनको आयोजना गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै युवा सम्मेलनको तयारी भइरहेको बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए ।

सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणाअनुसार युवाको सहभागिता रहने चौलागाईले बताए । उनका अनुसार युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका १२ जना व्यक्तित्वको सहभागिता रहने छ । ‘सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातीप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिकोरुपमा सहभागी गराउदैछौं । सम्मेलनमा सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर श्रोतव्यक्तिसँग अन्तरक्रिया गर्नेछन् ।’ उनले बताए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रथम पटक आयोजना हुन लागेको सम्मेलनमा युवा पुस्तालाई अभिमुखीकरण गर्न, अभिप्रेरित गर्न, सकारात्मक कार्यप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरेको बताइन् ।

दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना हुनेछ । त्यस्तै सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोंचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतमले युवासंग अन्तरक्रिया गर्ने, सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नेछन् ।

सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्ने, उद्यम एवम् व्यावसायिकः सुरुवात र उद्यमशीलताका विषयमा डा। सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले अन्तरक्रिया गर्ने कार्यकारी उपाध्यक्ष चौलागाईले बताए । । यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आआफ्ना प्रस्तुती र अन्तरक्रिया गर्ने उनले बताए ।

सम्मेलनमा १५० युवाको सहभागिता रहनेछ । सम्मेलनमा सहभागी हुने युवा २० देखि ३५ वर्षभन्दा कम उमेरका हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*